तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई विद्यादेवी भण्डारीको आग्रह
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई अध्ययन, संवाद र बहसबाट तथ्य तथा तर्कमा आधारित राजनीतिक धारणा निर्माण गर्न आग्रह गरेकी छन्।
मदन भण्डारी आइडोलोजी स्टुडेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले राजनीतिक विचार समयअनुसार विकसित हुँदै जाने भएकाले युवाहरूले जिज्ञासा राख्दै अध्ययन र बहसलाई निरन्तरता दिनुपर्ने बताइन्।
‘कुनै पनि राजनीतिक विचार समयसँगै विकसित हुँदै जानुपर्छ। त्यसैले तपाईंहरू आफ्नो जिज्ञासा राख्नुस्, अध्ययन गर्नुस्, आफ्ना विचार व्यक्त गर्नुस्,’ भण्डारीले भनिन्, ‘अरूका विचार पनि सुन्नुस् र संवाद तथा बहसबाट आफ्नो धारणा निर्माण गर्नुहोस्।’
लोकतन्त्रको शक्ति आफूले भनेको विचार मात्र स्थापित गर्नुमा नभई फरक विचारलाई सम्मानपूर्वक सुन्ने संस्कारमा रहेको उनको भनाइ छ। तर्क र तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कार लोकतन्त्रका लागि महत्वपूर्ण रहेको उनले बताइन्।
भण्डारीले सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण आजको पुस्ता विगतका पुस्ताभन्दा धेरै सूचनासम्पन्न भए पनि सूचना धेरै हुँदैमा सही ज्ञान हासिल नहुने बताइन्। ‘सूचना धेरै हुनु र सही ज्ञान हुनु एउटै कुरा होइन,’ उनले भनिन्।
त्यसैले सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्न सक्ने क्षमता आजको पुस्ताका लागि महत्वपूर्ण रहेको भण्डारीले बताइन्। पूर्वराष्ट्रपति भण्डारीले युवाको राजनीतिक सहभागिता निर्वाचनका बेला मत माग्ने वा दिने विषयमा मात्र सीमित हुन नहुने बताइन्।
उनका अनुसार राजनीति समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने तथा देशको विकास र परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो। ‘राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन। राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन,’ भण्डारीले भनिन्।
उनले युवाहरूलाई राजनीतिक विचारप्रति खुला हुँदै अध्ययन, संवाद र तथ्यमा आधारित बहसको संस्कार विकास गर्न आग्रह गरिन्।







