सरकार र लघुवित्त पीडितबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिबीच ७ बुँदे सहमति भएको छ।
सहमतिसँगै समितिले काठमाडौं केन्द्रित आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारसँग भएको सहमतिबारे जानकारी दिएको हो।
समितिका अध्यक्ष रमेश सेञ्चुरीले सरकारले लघुवित्त पीडितका समस्या समाधान गर्न प्रतिबद्धता जनाएपछि राजधानी मार्चलगायत आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताए। उनले सहमति कार्यान्वयन नभएसम्म लघुवित्त संस्थाहरूले गर्दै आएका गतिविधि रोक्नुपर्ने मागसमेत गरे।
‘हामीले आन्दोलनका कार्यक्रमअन्तर्गत गर्दै आएको राजधानी मार्च समेत तत्कालका लागि स्थगन गर्ने घोषणा गरेका छौँ,’ सेञ्चुरीले भने। सरकार र आन्दोलन समितिबीच लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीका समस्या समाधान गर्न उच्चस्तरीय लघुवित्त वित्तीय संस्था समस्या समाधान समिति गठन गर्ने सहमति भएको छ।
समितिको कार्यादेश तयार गर्दा सम्बन्धित सरोकारवाला समूहबाट समेत सुझाव लिनुपर्ने व्यवस्था सहमतिमा गरिएको छ। त्यस्तै, समस्यामा परेका लघुवित्त ऋणीको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।







