क्लासिक टेक बन्यो नेपालकै सबैभन्दा तीव्र गतिमा बढ्ने इन्टरनेट सेवा प्रदायक
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो व्यवस्थापन सूचना प्रणाली प्रतिवेदन अनुसार क्लासिक टेक प्रालिले नेपालका इन्टरनेट सेवा प्रदायक मध्ये सबैभन्दा उच्च ग्राहक वृद्धिदर हासिल गरेको छ।
प्रतिवेदन अनुसार २०८२ असारदेखि २०८३ असारसम्म क्लासिक टेकका ग्राहक संख्या ५६ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीका ग्राहक १ लाख ८७ हजार १३७ बाट बढेर २ लाख ९२ हजार ९२२ पुगेका छन्।
ग्राहक वृद्धिदरमा क्लासिक टेक अन्या सेवाप्रदायक भन्दा अगाडि देखिएको छ। सो अवधिमा वाइफाइ नेपालको ग्राहक संख्या ४७ प्रतिशत, नेपाल टेलिकमको १९ प्रतिशत, भायानेटको १७ प्रतिशत, वल्र्डलिंकको ७ प्रतिशत र डिसहोमको ३ प्रतिशतले बढेको छ। सुबिसुको ग्राहक संख्या भने १० प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।
ग्राहक संख्याका आधारमा क्लासिक टेक अहिले नेपालका ठूला इन्टरनेट सेवा प्रदायकमध्ये पाँचौँ स्थानमा रहेको कम्पनीले जनाएको छ। कम्पनीको बजार हिस्सा ८.२० प्रतिशत पुगेको छ । कम्पनीले पछिल्लो ग्राहक वृद्धिलाई आफ्नो नेटवर्क तथा सेवाप्रति ग्राहकको बढ्दो विश्वासको संकेतका रूपमा व्याख्या गरेको छ।
बजार परिपक्व हुँदै जाँदा ग्राहकले मूल्यसँगै नेटवर्कको गुणस्तर र सेवाको आधारमा आइ एस पी छनोट गर्न थालेको कम्पनीको भनाइ छ । ग्राहक संख्या विस्तारसँगै पूर्वाधारमा समेत लगानी बढाउँदै आएको क्लासिक टेकले जनाएको छ।
कम्पनीका अनुसार आवासीय ग्राहकका प्याकेजमा सुरुवाती तहदेखि नै वाइफाइ–६ राउटरलाई मानकका रूपमा प्रयोग गरिँदै आएको छ। कम्पनीको फाइबर नेटवर्क हाल ७४ जिल्लामा विस्तार भएको छ ।







