भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौं आइपुगे, सोमबार मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौं आइपुगे, सोमबार मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौ । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।

उनलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि भारतबाट नेपाल भ्रमणमा आउने सेठ अहिलेसम्मकै वरिष्ठ अधिकारी हुन्। उनले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका हुन्।

नेपाल बसाइँका क्रममा सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने तयारी छ। भेटवार्तामा दुई देशका सेनाबीचको आपसी सहयोग तथा सहकार्यका विषयमा छलफल हुने बताइएको छ।

सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आएका हुन्। उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ।

नेपाल बसाइँका क्रममा सेठले सैनिक मञ्च टुँडिखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने तथा प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। यद्यपि भ्रमणको विस्तृत औपचारिक कार्यक्रम परराष्ट्र मन्त्रालय र नेपाली सेनाले सार्वजनिक गरिसकेका छैनन्।

भारतीय प्रधानसेनापतिलाई नेपाल र नेपाली प्रधानसेनापतिलाई भारतको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि चल्दै आएको नेपाली सेनाले जनाएको छ। यसै परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्।

२७ मंसिर २०८१ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्। भारतीय प्रधानसेनापति सेठको नेपाल भ्रमणलाई दुई देशका सेनाबीच लामो समयदेखि कायम सैन्य सम्बन्ध तथा सहकार्यलाई निरन्तरता दिने महत्वपूर्ण भ्रमणका रूपमा हेरिएको छ।