भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

User Image Prime TV News ४ हप्ता अगाडि
Image of भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

काठमाडौ । भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा जनरल सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन्।

प्रधानसेनापति सेठ आइतबार काठमाडौं आएका हुन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणमा नेपाल आएका सेठको भ्रमणलाई नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्धलाई निरन्तरता दिने तथा द्विपक्षीय रक्षा सहकार्यलाई थप बलियो बनाउने अवसरका रूपमा हेरिएको छ।

भारतको रक्षा मन्त्रालयले पनि उनको भ्रमणको उद्देश्य नेपाल–भारतबीचको रक्षा सहकार्य तथा दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ गर्नु रहेको जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेपछि नेपाल भ्रमणमा आउने जनरल सेठ भारतका अहिलेसम्मकै वरिष्ठ अधिकारी हुन्। भारतीय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि उनले पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका हुन्।

त्यसैले उनको नेपाल भ्रमणलाई कूटनीतिक तथा सामरिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ। काठमाडौं बसाइँका क्रममा जनरल सेठले प्रधानमन्त्री तथा रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

त्यस्तै, उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटवार्तामा नेपाल–भारत सैन्य सम्बन्ध, पारस्परिक सहयोग तथा दुई देशका सेनाबीच हुँदै आएको सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

जनरल सेठले सैनिक मञ्च टुँडिखेल पुगेर वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ। त्यसपछि जंगीअड्डामा प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।