लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिदै

User Image Prime TV News ४ हप्ता अगाडि
Image of लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

सत्ता साझेदार नेपाली कांग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्।

नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच सातवटै प्रदेशमा सत्ता गठबन्धन गर्ने तीनबुँदे सहमति भएको थियो।

त्यसपछि कांग्रेसले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न चार जना प्रदेश सभा सदस्यले राजीनामा दिएपछि अहिले ८३ जना सदस्य कायम छन्।

कायम सदस्य संख्याका आधारमा प्रदेश सभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनी प्रदेश सभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्।

सरकारलाई बहुमत जुटाउन एमाले र नेकपाले एक जना प्रदेश सभा सदस्य रहेको राष्ट्रिय जनमोर्चासँग समेत सहमति गरेका छन्। त्यस्तै, वर्तमान सरकारमा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना मन्त्री सहभागी छन्।

यी दलको समर्थनसमेत कायम रहेमा मुख्यमन्त्री आचार्यको पक्षमा सुविधाजनक बहुमत पुग्ने देखिएको छ। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार तथा मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी गरिएको छ।