निगमले छुट्टै स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री नगर्ने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of निगमले छुट्टै स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री नगर्ने

काठमाडौ । नेपाल आयल निगमले शनिबार र आइतबार जस्तो छुट्टै स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री नगर्ने भएको छ।

निगमले आज सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।

निगमले शनिबार पाँच स्थान र आइतबार सात स्थानबाट एलपी ग्यास बिक्री–वितरण गरेको थियो। आजदेखि भने उपभोक्ताले आफूलाई पायक पर्ने आधिकारिक ग्यास विक्रेतासँग सम्पर्क गरेर ग्यास खरिद गर्नुपर्नेछ।

निगमले ग्यास बिक्री–वितरणलाई व्यवस्थित बनाउन उद्योग तथा विक्रेतालाई विभिन्न विवरण अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

ग्यास नपाए क्यूआरटीमा सम्पर्क गर्न सकिने

नजिकको विक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका र तत्काल ग्यास आवश्यक भएका उपभोक्ताले निगममा सञ्चालनमा रहेको क्विक रेस्पोन्स टिममा सम्पर्क गर्न सक्नेछन्।

यसका लागि निगमले ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बर उपलब्ध गराएको छ।

ग्यास बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले पाँचबुँदे व्यवस्था लागू गरेको जनाएको छ। जसअनुसार ग्यास उद्योगले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म निगमलाई उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, ग्यास विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरलगायत विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित ग्यास उद्योगलाई बुझाउनुपर्नेछ। उद्योगले उक्त विवरण प्रत्येक सात दिनमा निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

निगमले ग्यास बिक्री गर्दा अत्यावश्यक घरेलु प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री–वितरण गर्न पनि निर्देशन दिएको छ।

ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षाको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ।

त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका कर्मचारीसहितको संयुक्त टोलीले ग्यास बिक्री–वितरणको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

निगमले ग्यास बिक्री–वितरणमा सहजता ल्याउन सम्बन्धित उद्योग, विक्रेता तथा उपभोक्तालाई तोकिएका व्यवस्था पालना गर्न आग्रह गरेको छ।