आज नाग पञ्चमी पर्व
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभर हिन्दु धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्।
यस अवसरमा घर तथा कार्यालयको मूल ढोकामा नागको तस्बिर टाँसेर नाग देवताको पूजा गर्ने परम्परा छ। नाग पञ्चमीका दिन बिहानै उठेर स्नान गरी दियो, कलश र गणेशको पूजा गरिन्छ।
त्यसपछि घरको मूल ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने चलन छ। नागको तस्बिरमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गरिन्छ।
धार्मिक मान्यताअनुसार नागको पूजा गर्नाले वर्षभरि घरमा सर्प, बिच्छी लगायत विषालु जीवको भय नहुने विश्वास छ। त्यस्तै, नागको पूजा गरेमा अग्नि, मेघ र चट्याङको डरबाट समेत बच्न सकिने जनविश्वास रहिआएको छ।
शास्त्रमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गर्ने विधान उल्लेख गरिएको छ। नाग पञ्चमीका दिन नाग स्तोत्र पाठ गर्दै नागको तस्बिरमा पूजा गर्ने परम्परा रहेको छ।







