लखीसरायको अशोकधाम मन्दिरमा भागदौड, सात श्रद्धालुको मृत्यु
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । भारतको बिहार स्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भएको भागदौडमा कम्तीमा सात श्रद्धालुको मृत्यु भएको छ। घटनामा १४ जनाभन्दा बढी घाइते भएको पछिल्लो विवरणमा जनाइएको छ।
श्रावण महिनाको तेस्रो सोमबार भगवान् शिवलाई जल चढाउन ठूलो संख्यामा श्रद्धालु मन्दिर पुगेका थिए। बिहान करिब ६ः३० बजे भीड अत्यधिक बढेपछि मन्दिर नजिकको क्षेत्रमा राखिएको ब्यारेकेडिङ भत्किएको र त्यसपछि मानिसहरू एक-अर्कामाथि खस्दा भागदौड भएको अधिकारीहरूले बताएका छन् ।
जिल्ला प्रशासनका अनुसार दुईवटा रेल लगातार रोकिँदा अशोकधाम क्षेत्रमा अचानक श्रद्धालुको भीड बढेको थियो। विद्युत्को पोल खसेको र करेन्ट लागेको हल्ला फैलिएपछि पनि मानिसहरूमा त्रास बढेको प्रारम्भिक विवरणमा उल्लेख छ। यद्यपि घटनाको वास्तविक कारणबारे प्रशासनले अनुसन्धान गरिरहेको छ।
घाइतेहरूलाई उपचारका लागि नजिकका सरकारी अस्पतालमा लगिएको छ। प्रहरी तथा जिल्ला प्रशासनका अधिकारीहरू घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्यमा जुटेका छन्। मृतकहरूको पहिचान गर्ने कामसमेत भइरहेको अधिकारीहरूले बताएका छन्।
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्। घाइतेहरूको उचित र शीघ्र उपचार सुनिश्चित गर्न प्रशासनलाई निर्देशन दिइएको उनले बताएका छन्।
घटनापछि ठूलो धार्मिक भीड व्यवस्थापन र मन्दिर क्षेत्रमा सुरक्षा प्रबन्धबारे प्रश्न उठेको छ। प्रशासनले घटनाको कारण र व्यवस्थापनमा भएको सम्भावित कमजोरीबारे थप अनुसन्धान गरिरहेको छ।







