ट्रम्पद्वारा दक्षिण कोरियासँगको सैन्य अभ्यासमा ठूलो कटौतीको आदेश

User Image Prime TV News ४ हप्ता अगाडि
Image of ट्रम्पद्वारा दक्षिण कोरियासँगको सैन्य अभ्यासमा ठूलो कटौतीको आदेश

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो ‘धेरै राम्रो सम्बन्ध’लाई कारण देखाउँदै दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासमा ठूलो कटौती गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्।

ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत संयुक्त सैन्य अभ्यास महँगो रहेको र त्यसको ठूलो हिस्सा अमेरिकाले बेहोर्नुपरेको बताएका छन्। उनका अनुसार यस्ता अभ्यासले उत्तर कोरियालाई ‘अनुचित र शत्रुतापूर्ण’ सन्देश दिने गरेको छ। उनले यसपटकको अभ्यास पूर्ण रूपमा रद्द गर्न ढिला भइसकेकाले त्यसलाई उल्लेख्य रूपमा घटाउन निर्देशन दिएको बताएका छन्।

ट्रम्पले दक्षिण कोरियाले इरानको परमाणु निशस्त्रीकरण अभियानमा अमेरिकासँग सहकार्य गर्न अस्वीकार गरेको दाबीसमेत गरेका छन्। उनले आफूले दक्षिण कोरियाली राष्ट्रपतिलाई उक्त अभियानमा सहभागी हुन आग्रह गरेको तर जवाफमा अस्वीकार गरेको बताएका हुन्।

यसैबीच, दक्षिण कोरियाले भने अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास ‘उल्ची फ्रिडम शिल्ड’ (UFS) निर्धारित कार्यक्रमअनुसार अघि बढ्ने जनाएको छ। वार्षिक अभ्यास सोमबारदेखि सुरु भएको हो र यसमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुने बताइएको छ। अभ्यासमा वास्तविक, भर्चुअल र कम्प्युटरमा आधारित सैन्य प्रशिक्षण समावेश छ।

ट्रम्पको निर्णय उत्तर कोरियाले हालै संयुक्त राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन हुने गरी ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरिरहेको र रुससँग उसको सैन्य सहकार्य बढिरहेको समयमा आएको हो। अमेरिकी तथा दक्षिण कोरियाली अधिकारीहरूले संयुक्त अभ्यासलाई उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणविरुद्ध तयारी र प्रतिरोध क्षमता कायम राख्ने महत्वपूर्ण माध्यम मान्दै आएका छन्। 

ट्रम्पले पछिल्लो समय किम जोङ उनसँग आफ्नो व्यक्तिगत सम्बन्धलाई पनि जोड दिँदै आएका छन्। सैन्य अभ्यासमा कटौतीको घोषणा गर्नुअघि उनले किमसँग खिचिएको पुरानो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूहरूबीच ‘धेरै राम्रो’ सम्बन्ध रहेको बताएका थिए।

ट्रम्पको पछिल्लो निर्णयले अमेरिका–दक्षिण कोरिया सुरक्षा गठबन्धन र उत्तर कोरियाविरुद्धको अमेरिकी प्रतिरोध नीतिबारे नयाँ बहस सुरु भएको छ। विज्ञहरूले सैन्य अभ्यास घटाउँदा उत्तर कोरियासँग कूटनीतिक संवादको सम्भावना बढ्न सक्ने भए पनि यसले अमेरिकी प्रतिबद्धता र दक्षिण कोरियाको सैन्य तयारी कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।