वैदेशिक रोजगार व्यवसायीका माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति

User Image Prime TV News ४ हप्ता अगाडि
Image of वैदेशिक रोजगार व्यवसायीका माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति

काठमाडौ । वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएपछि व्यवसायीहरूले घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

युवा, श्रम तथा रोजगार मन्त्रालयमा सोमबार भएको वार्तामा व्यवसायीले उठाएका १५ बुँदे मागका विषयमा छलफल गर्दै ४५ दिनभित्र माग सम्बोधन गर्ने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले जानकारी दिए।

सहमति भएसँगै वैदेशिक रोजगार व्यवसायीहरूले मंगलबारदेखि नियमित रूपमा कार्यालय सञ्चालन गर्ने भएका छन्। महासचिव डाँगीका अनुसार वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको छ।

व्यवसायीहरूले सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागबाट भएका कारबाही फिर्ता लिनुपर्ने लगायतका १५ बुँदे माग अघि सारेका थिए। माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले सोमबारदेखि कार्यालय बन्द गरी वैदेशिक रोजगारीमा श्रमिक पठाउने कामसमेत रोक्ने घोषणा गरेका थिए।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्रका विभिन्न समस्यालाई लिएर आन्दोलन तथा ध्यानाकर्षणका कार्यक्रम सञ्चालन गर्दै आएको थियो। सोमबार श्रम मन्त्रालयमा भएको वार्तामा श्रम तथा रोजगारमन्त्री र मन्त्रालयका सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारी सहभागी थिए। छलफलमा संघले अघि सारेका १५ बुँदे मागका विषयमा विस्तृत रूपमा छलफल भएको मन्त्रालयले जनाएको छ।

वार्ताबाट भएको सहमतिपछि तत्कालका लागि वैदेशिक रोजगार व्यवसायी र सरकारबीच देखिएको गतिरोध अन्त्य भएको छ। अब सहमति कार्यान्वयनका लागि मन्त्रालयले ४५ दिनभित्र व्यवसायीका मागमाथि आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेछ।