मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा मागेको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको छ।
सोमबार बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मतसम्बन्धी प्रस्तावमा पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनअनुसार तटस्थ बस्ने निर्णय गरिएको हो।
पार्टीको निर्णयअनुसार विश्वासको मतसम्बन्धी मतदानमा तटस्थ रहन प्रदेशसभा सदस्यहरूलाई ह्विपसमेत जारी गरिएको उनले बताए। बागमती प्रदेशसभामा राप्रपाका १३ सांसद छन्। राप्रपा तटस्थ बस्ने भएपछि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत जुटाउन थप चुनौती देखिएको छ।
गत साउन ६ गते तत्कालीन सत्ता साझेदार नेकपा एमालेले सरकारबाट आफ्ना ६ मन्त्री फिर्ता बोलाउँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार अल्पमतमा परेका मुख्यमन्त्रीले निश्चित अवधिभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले बानियाँले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार टिकाउन मुख्यमन्त्री बानियाँलाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। हाल नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका २ गरी उनको पक्षमा ३८ सांसद रहेको दाबी गरिएको छ।
राप्रपाका १३ सांसद तटस्थ बस्ने निर्णयमा पुगेपछि मुख्यमन्त्री बानियाँलाई आवश्यक बहुमत जुटाउन अन्य दल तथा सांसदको समर्थन अनिवार्य हुने भएको छ। अब विश्वासको मतको प्रस्ताव पारित गर्न उनले थप १५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ।







