सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुखको रुलिङ
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुन रुलिङ गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्थाअनुसार सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्।
सांसदहरूले समसामयिक विषय तथा सरकारको कार्यशैलीसँग सम्बन्धित विभिन्न प्रश्न उठाउँदै आए पनि त्यसको सम्बोधन नभएको भन्दै बैठकमा ध्यानाकर्षण गराएपछि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन्।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीका नियम ५६, ५७, ५८ र ५९ बमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिए। बैठकमा सभामुखले भने, ‘प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु।’
प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ। यस्तै, नियम ५७ देखि ५९ सम्म सांसदले प्रश्न सोध्ने प्रक्रिया, प्रश्नको सूचना, मर्यादा तथा त्यसको जवाफ दिने व्यवस्थाबारे उल्लेख गरिएको छ।
पछिल्लो समय सदनमा सांसदहरूले सरकारसँग विभिन्न विषयमा जवाफ माग्दै आए पनि समयमै सम्बोधन नभएको भन्दै नियमापत्ति जनाउँदै आएका थिए। सभामुखको पछिल्लो रुलिङसँगै अब सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं सदनमा उपस्थित हुनुपर्ने भएको छ।







