बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

सोमबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए। सरकार जोगाउन प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएपछि सोमबार बैठक बोलाइएको थियो।

तर, बहुमत सांसदको समर्थन जुट्ने अवस्था नदेखिएपछि बानियाँले विश्वासको मतको प्रक्रियामा अघि नबढी राजीनामाको घोषणा गरेका हुन्। १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक हुन्छ। मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद मात्र देखिएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ सांसदले विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरेपछि बानियाँलाई बहुमत जुटाउन थप कठिन भएको थियो। त्यसपछि उनले प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट हट्ने घोषणा गरेका हुन्।

बानियाँ २०८२ साल साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। आफ्नै दलभित्रको शक्ति समीकरणमा बाजी मार्दै प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका बानियाँ करिब एक वर्षमै पदबाट बाहिरिन लागेका हुन्।

प्रदेशसभामा सम्बोधन गर्दै बानियाँले आफ्नो कार्यकालमा प्रदेशवासीको हितमा विभिन्न काम गरेको दाबी गरे। अझै धेरै काम गर्न बाँकी रहे पनि बदलिएको राजनीतिक परिस्थितिका कारण राजीनामा दिनुपरेको उनले बताए।

उनले संवैधानिक तथा संसदीय व्यवस्थाको मर्मअनुसार अभ्यास र संसदीय मर्यादा कायम गर्ने विषयमा अझै केही कुरा व्यवस्थित गर्न बाँकी रहेको बताए। मुख्यमन्त्रीको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ। अब प्रदेशसभामा रहेका दलहरूबीच नयाँ सरकार गठनका लागि सत्ता समीकरणको प्रयास अघि बढ्नेछ।