पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
प्रहरीले श्रेष्ठलाई अनुसन्धानका लागि थप म्याद माग्दै सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले पुनः म्याद थपको माग गरेको थियो।
श्रेष्ठलाई प्रहरीले गत साउन २७ गते पक्राउ गरेको थियो। उनीमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुर गरेको आरोप लगाइएको छ। पक्राउपछि उनलाई महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको छ।
यसैबीच, श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले उनको थुनामुक्तिको माग गर्दै गत बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसअघि साउन २९ गते श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको छ। जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिए पनि श्रेष्ठको थुनाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ भने छुट्टै प्रक्रियाबाट अघि बढ्नेछ।







