भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार जनरल सेठलाई उक्त सम्मान प्रदान गरिएको हो।

दुई देशबीच सन् १९५० देखि सुरु भएको यो परम्पराले नेपाल–भारतबीचको लामो समयदेखिको सैन्य सम्बन्धलाई समेत प्रतिबिम्बित गर्छ। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल सेठ तीन दिने औपचारिक भ्रमणका क्रममा सोमबार काठमाडौं आएका हुन्।

भ्रमणका क्रममा जनरल सेठले नेपाली सेनाका उच्च अधिकारी तथा अन्य विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमणले नेपाल र भारतका सेनाबीच रहँदै आएको पारस्परिक सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।