नेकपाले छान्यो ‘प्रचण्ड’का ज्वाइँ सहित कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री

User Image Prime TV News ४ हप्ता अगाडि
Image of नेकपाले छान्यो ‘प्रचण्ड’का ज्वाइँ सहित कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने चार मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ।

पार्टीभित्रको आन्तरिक छलफलपछि सोमबार दिउँसो सरकारमा पठाउने मन्त्रीहरूको नाम तय गरिएको नेकपा कोशी प्रदेश इन्चार्ज राजेन्द्र राईले जानकारी दिए। निर्णयअनुसार जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। आचार्य यसअघि पनि प्रदेश सरकारमा मन्त्री भइसकेका छन्। उनी नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन्।

त्यस्तै, गीत तिम्सिनालाई सामाजिक विकास मन्त्रालय, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ। सपना दर्जीलाई भने भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाइने भएको छ।

पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएसँगै सोमबार नै नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी गरेको छ। प्रदेश इन्चार्ज राईका अनुसार उनीहरूको शपथ अपराह्न ४ बजे गर्ने तयारी छ। नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारको सत्ता समीकरण थप विस्तार भएको छ। नयाँ मन्त्रीहरूको जिम्मेवारीसँगै प्रदेश सरकारमा दलहरूबीच मन्त्रालय बाँडफाँटको समीकरणसमेत स्पष्ट हुँदै गएको छ।