रास्वपाले भदौ ५ मा केन्द्रीय समिति बैठक बोलायो

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपाले भदौ ५ मा केन्द्रीय समिति बैठक बोलायो

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन्।

बैठकमा पार्टीका केही पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयन गर्ने तयारी रहेको एक नेताले जानकारी दिएका छन्। सभापति लामिछानेले केही पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर बैठकबाट अनुमोदन गराउने तयारी गरेको ती नेताले बताए। बैठक बस्ने जानकारी केन्द्रीय सदस्यहरूलाई पठाइसकिएको छ।

यो रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि साउन १३ गते पहिलो केन्द्रीय समिति बैठक बसेको थियो। उक्त बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव गरेका थिए। प्रस्ताव बैठकबाट सर्वसम्मत रूपमा पारित भएको थियो।

रास्वपामा अहिले एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ। त्यस्तै, पार्टीमा २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन हुन बाँकी रहेको छ।

साउन १३ गते बसेको पहिलो केन्द्रीय समिति बैठकले भने पदाधिकारीमध्ये पाँच जनालाई सचिवालय सदस्य बनाउने निर्णय गरेको थियो। आगामी बैठकमा बाँकी पदाधिकारी तथा संगठनात्मक संरचना विस्तारबारे निर्णय हुन सक्ने बताईएको छ ।