‘गौंथली’को बक्सअफिस कमाइ २३ करोड ५५ लाख, ‘कमला मिस’ र ‘हली’ कमजोर

User Image Prime TV News ४ हप्ता अगाडि
Image of ‘गौंथली’को बक्सअफिस कमाइ २३ करोड ५५ लाख, ‘कमला मिस’ र ‘हली’ कमजोर

काठमाडौ । चलचित्र विकास बोर्डले पछिल्लो समय प्रदर्शनरत नेपाली फिल्महरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार ‘गौंथली’ले बक्सअफिसमा उल्लेख्य व्यापार गर्दै २३ करोड ५५ लाख रुपैयाँ ग्रस कमाएको छ। बोर्डका अनुसार प्रदर्शनको ३१ दिनसम्म ‘गौंथली’लाई देशभर ८ लाख ५५ हजारभन्दा बढी दर्शकले हेरेका छन्।

डा. कपिल रिजाल निर्देशित यो फिल्म नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो स्थानमा पुगेको बताइएको छ। डा. भोला रिजालको कथामा बनेको फिल्ममा सिम्रन खड्का र अरुण क्षेत्री मुख्य भूमिकामा छन्। फिल्मले प्रदर्शनको लामो समयसम्म दर्शकको साथ पाउँदै आएको छ।

यता, नीर शाह निर्देशित फिल्म‘कमला मिस’ को बक्सअफिस प्रदर्शन भने कमजोर देखिएको छ। साउन २२ गतेदेखि प्रदर्शनमा आएको फिल्मले साउन ३१ गतेसम्म जम्मा २ लाख ६१ हजार रुपैयाँ ग्रस कमाएको बोर्डले जनाएको छ। उक्त अवधिमा फिल्मलाई केवल ७१८ जना दर्शकले हेरेका छन्।

सोही दिन रिलिज भएको अर्को फिल्म ‘हली’ को व्यापार पनि अपेक्षाकृत कमजोर देखिएको छ। बोर्डका अनुसार ‘हली’ले सो अवधिसम्म २१ लाख ७७ हजार रुपैयाँ ग्रस कमाएको छ। फिल्म हेर्न ७ हजार ७१० जना दर्शक हल पुगेका छन्।

बक्सअफिस तथ्यांकले एकातिर ‘गौंथली’ले नेपाली फिल्म बजारमा उल्लेख्य सफलता हासिल गरिरहेको देखाएको छ भने अर्कोतर्फ नयाँ रिलिज भएका केही फिल्मले दर्शक तान्न संघर्ष गरिरहेको देखाएको छ।