३५० रुपैयाँको सामान किन्दा १० लाखको करदाता पुरस्कार

User Image Prime TV News ४ हप्ता अगाडि
Image of ३५० रुपैयाँको सामान किन्दा १० लाखको करदाता पुरस्कार

काठमाडौ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक बम्पर पुरस्कार घोषणा गरेको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गरेका हुन्। विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी भएका उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ता १० लाख रुपैयाँको बम्पर प्रोत्साहन पुरस्कारका लागि छनोट भएका छन्।

विभागले करदाता प्रोत्साहन कार्यक्रम सुरु भएको पहिलो महिनामै उपभोक्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको जनाएको छ। साउनको दोस्रो पाक्षिक अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि दर्ता अर्थात् अपलोड भएका छन्।

यसअघि साउन १ देखि १५ गतेसम्म पुरस्कारका लागि बिल अपलोड गर्ने कारोबार संख्या ७ हजार ७७ वटा मात्रै रहेको थियो। दोस्रो पाक्षिक अवधिमा बिल अपलोड गर्नेको संख्या ह्वात्तै बढेसँगै करदाता प्रोत्साहन कार्यक्रमप्रति उपभोक्ताको आकर्षण बढेको विभागले जनाएको छ।

विभागले नियमसम्मत कारोबारलाई प्रोत्साहन गर्दै उपभोक्तालाई खरिदका क्रममा प्राप्त बिल सुरक्षित राखी निर्धारित प्रक्रियामार्फत पुरस्कार कार्यक्रममा सहभागी हुन आग्रह गर्दै आएको छ। यस कार्यक्रमले कारोबारलाई औपचारिक प्रणालीमा ल्याउन, बिल लिने प्रवृत्ति बढाउन तथा कर प्रणालीमा सर्वसाधारणको सहभागिता विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।