गगन र देउवाबीचको दूरी घटाउन पहल गर्छु : शशांक कोइराला

User Image Prime TV News ४ हप्ता अगाडि
Image of गगन र देउवाबीचको दूरी घटाउन पहल गर्छु : शशांक कोइराला

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताएका छन्।

कांग्रेसभित्र बढिरहेको विवाद समाधानका लागि दुवै पक्षलाई संवादमा ल्याएर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको जोड छ। सोमबार संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै कोइरालाले आफू कांग्रेस विभाजनको पक्षमा नरहेको स्पष्ट पारे।

उनले पार्टीभित्र रहेका दुवै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए। ‘गगनकुमार थापा र शेरबहादुरजीको बीचको जुन दूरी छ, त्यसलाई घटाउन, दुई जनाको बीचमा संवाद हुन ताकि अगाडि बढोस् भनेर म प्रयत्न गर्नेछु,’ उनले भने। कोइरालाले विवाद समाधानका लागि आफूले पहल गर्न तयार रहे पनि आफ्नो एक्लो प्रयासले मात्रै समस्या समाधान नहुने बताए।

सभापति थापासँग यसअघि पनि पटक–पटक भेटेर संवाद र सहमतिका लागि आफूले प्रयास गरेको उनले जानकारी दिए। नेता कोइरालाले पछिल्लो समय कांग्रेसभित्र बढेको आरोप–प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाए। विगतमा पार्टीभित्र गम्भीर विवाद भए पनि त्यसले बौद्धिक विमर्शको स्वरूप लिने गरेको उनले स्मरण गरे।

उनले नेतृत्व तहबाटै संयम अपनाउनुपर्नेमा जोड दिँदै वरिष्ठ नेताहरूबीच हुने गालीगलौज कांग्रेसको राजनीतिक संस्कारअनुकूल नभएको बताए। ‘बीपी हुँदा यस्तो गालीगलौज हुँदैनथ्यो। विवाद हुन्थ्यो, तर एउटा सीमित घेरामा बस्थे, यस्तो किसिमको छरपस्ट त हुँदैनथ्यो,’ कोइरालाले भने।

उनले प्रदीप गिरीले विगतमा पार्टीभित्र प्रश्न र असहमति राख्ने गरे पनि त्यसलाई बौद्धिक विमर्शका रूपमा लिइने गरेको बताए। अहिले भने पार्टीभित्रको राजनीतिक भाषा र संस्कार कमजोर हुँदै गएको उनको भनाइ छ।

कोइरालाले कांग्रेसभित्रको विवादको मूल कारण नेतृत्व र पदसँग जोडिएको बताए। दुवै पक्षले आफूलाई आवश्यक विषय स्पष्ट रूपमा राखेर सहमतिको बाटो खोज्नुपर्ने उनको धारणा छ। ‘हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नुपर्‍यो, दुवै पक्षले भन्न सक्नुपर्‍यो, हामीलाई के चाहिन्छ। चाहिने त त्यही पद हो, अरू के चाहिने?’ उनले प्रश्न गरे।

कांग्रेसभित्रको विवाद अन्ततः समाधान हुने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि समय र प्रक्रियाबारे अहिले नै भन्न कठिन भए पनि पार्टी मिलाएर अघि बढ्ने बताए। कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउन सके पार्टी थप शक्तिशाली हुने दाबी गरे। साथै, सभापति गगन थापालाई वरिष्ठ नेताहरूलाई समेत समेटेर अघि बढ्न आग्रह गरे।

उनका अनुसार पार्टीभित्रको असहमति र नेतृत्वबीचको दूरी संवादमार्फत घटाउँदै सबै पक्षलाई समेट्न सके कांग्रेसको संगठनात्मक र राजनीतिक शक्ति थप मजबुत बन्न सक्छ।