देशभर मौसम स्थिर, कोशी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्का वर्षाको संकेत
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा मौसम सफा रहेको छ भने पहाडी क्षेत्रमा भने आंशिक बदली देखिएको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
त्यस्तै, आज राति कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ।
विभागका अनुसार निकट दिनहरूमा कुनै ठूलो वर्षा वा मौसमी प्रणाली विकसित हुने संकेत छैन। अधिकांश स्थानमा मौसम स्थिर रहने भएकाले दैनिक क्रियाकलापमा विशेष असर नपर्ने जनाइएको छ।







