नेपाल–भारत खुला सीमा बन्द गरी भिसा प्रणाली लागू गर्न हर्क साम्पाङको माग

User Image Prime TV News ४ हप्ता अगाडि
Image of नेपाल–भारत खुला सीमा बन्द गरी भिसा प्रणाली लागू गर्न हर्क साम्पाङको माग

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल र भारतबीचको खुला सीमा बन्द गरी दुवै देशका नागरिकका लागि भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले खुला सीमाका कारण नेपाल र भारतबीच आवतजावत गर्ने नागरिकको यकिन तथ्यांक राख्न कठिन भएको भन्दै सीमा व्यवस्थापनमा कडाइ गर्नुपर्ने धारणा राखे।

उनले नेपालबाट भारत जाने नागरिक र भारतबाट नेपाल आउने नागरिकको अभिलेख राख्न पनि भिसा प्रणाली आवश्यक रहेको बताए। ‘भारत र नेपालबीचको खुला सीमा राख्न हुँदैन। भिसा सिस्टम बनाऔँ। सील गरौँ। ताकि थाहा होस् कति नेपाली भारत गएर बसिरहेका छन्, कति लाख भारतीय नेपालमा आएर बसिरहेका छन्,’ साम्पाङले भने।

उनले खुला सीमाका कारण मानव बेचबिखनलगायत विभिन्न आपराधिक गतिविधि बढ्न सक्ने दाबी गरे। सीमा खुला राख्दा आवतजावतको व्यवस्थित अभिलेख राख्न नसकिने भएकाले सुरक्षा चुनौतीसमेत बढ्ने उनको भनाइ थियो।

साम्पाङले नेपाल–भारत सीमा व्यवस्थापनलाई अन्य देशसँगको सीमाजस्तै व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। ‘दुनियाँमा कतै नभएको भारत र नेपालको सिमाना चाहिँ खुला हुनुपर्ने? यसलाई पनि हामीले बन्द गर्नुपर्छ, भिसा सिस्टम लागू गर्नुपर्छ। र रेकर्ड राख्नुपर्छ,’ उनले भने।