भदौ १० गते संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।
सभामुख डीपी अर्यालले प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरका लागि उक्त मिति तोकेका हुन्। प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रत्यक्ष प्रश्नोत्तरका लागि निर्धारण गर्नुपर्ने व्यवस्था छ।
नियमावलीमा सभामुखले समय निर्धारण गर्ने स्पष्ट व्यवस्था भए पनि यसअघि उक्त प्रावधान कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठ्दै आएको थियो। पछिल्लो समय विपक्षी दलका सांसदहरूले समेत प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै आएका थिए।
नियम ५६ को उपनियम १ अनुसार तोकिएको दिन कुनै कारणले बैठक बस्न नसके त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टा प्रत्यक्ष प्रश्नोत्तरका लागि निर्धारण गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीको नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि आफ्नो प्रश्नको विषयबारे लिखित जानकारी सभामुखलाई दिनुपर्नेछ।
त्यसरी प्राप्त प्रश्न स्वीकारयोग्य भए–नभएको निर्णय गर्ने अधिकार भने सभामुखलाई रहेको नियम ५९ मा उल्लेख छ। प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि पनि सभामुखले निर्धारण गर्न सक्ने व्यवस्था छ। यस्तै, नियम ६० अनुसार प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीबाट दिइएको जवाफमाथि प्रतिनिधिसभामा थप छलफल भने गरिने छैन।
भदौ १० गते हुने प्रश्नोत्तर कार्यक्रमसँगै लामो समयदेखि कार्यान्वयनको प्रश्न उठ्दै आएको प्रतिनिधिसभाको यो प्रक्रियाले औपचारिकता पाउने भएको छ। सांसदहरूले प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा प्रत्यक्ष प्रश्न राख्ने तयारी गर्नेछन्।







