प्रतिनिधिसभाको बैठक आज बस्दै,चार मन्त्रीले सम्बन्धित प्रश्नको उत्तर दिने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of प्रतिनिधिसभाको बैठक आज बस्दै,चार मन्त्रीले सम्बन्धित प्रश्नको उत्तर दिने

काठमाडौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

कार्यसूचीअनुसार परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन्।

त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन २०८१ साउनदेखि २०८२ असारसम्मको प्रतिवेदन पेस गर्नेछिन्।

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

कानुनमन्त्री गौतमले नै संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतासमेत बैठकमा पेस गर्नेछिन्।