आजको मौसम, देशभर सामान्यतया बदली

User Image Prime TV News ४ हप्ता अगाडि
Image of आजको मौसम, देशभर सामान्यतया बदली

काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा देशको पश्चिमी भूभागमा सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको छ।

मनसुनी वायुको प्रभावका कारण हाल देशभर सामान्यतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।