उपसभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न, तटस्थता कायम गर्न सुझाव

User Image Prime TV News ४ हप्ता अगाडि
Image of उपसभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न, तटस्थता कायम गर्न सुझाव

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभाका सभामुख र उपसभामुखले आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्दा दलगत आग्रहभन्दा माथि उठेर तटस्थ भूमिका कायम गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले सभामुखको भूमिकाबारे यसअघि नै विभिन्न प्रश्न उठेको उल्लेख गर्दै सुधारको प्रयास देखिएको बताए। तर, उपसभामुखको भूमिकामा समेत समस्या देखिएको उनको टिप्पणी छ।

उनले संविधानले सभामुख र उपसभामुख फरक राजनीतिक दलबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै पदमा निर्वाचित भएपछि दुवैले कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरही निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताए। संविधानमा समेत सभामुख र उपसभामुखले आफ्नो कार्यसम्पादन गर्दा तटस्थ व्यक्तिको हैसियतमा काम गर्नुपर्ने व्यवस्था छ।

श्रम संस्कृति पार्टीबाट समानुपातिकतर्फ निर्वाचित उपसभामुखले आफ्नो दलप्रति निरपेक्ष रहने क्रममा सत्तापक्षको पक्षपोषण गर्न नहुने पोखरेलको भनाइ छ। यस्तो व्यवहारले संविधानको व्यवस्था तथा संसदीय प्रणालीको मूल्यमान्यतामाथि प्रश्न उठाउने उनको तर्क छ।

पोखरेलले उपसभामुखमा अनुभवको कमीका कारण पदीय मर्यादा र संविधानको भावनाअनुकूल आचरणमा पर्याप्त ध्यान पुग्न नसकेको हुनसक्ने बताएका छन्। उनले उपसभामुखलाई आफ्नो संवैधानिक भूमिका र पदीय मर्यादाअनुसार तटस्थ तथा निष्पक्ष रूपमा प्रस्तुत हुन सुझाव दिएका छन्।

यसअघि पनि प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसदहरूले बैठकका क्रममा वेल घेराउ गरेपछि सभामुख डिपी अर्यालले उनीहरूलाई सभामुखको आदेश पालना गर्न सचेत गराएका थिए।