कांग्रेस केन्द्रीय कार्यसमितिका निर्णय आज सार्वजनिक हुँदै

User Image Prime TV News ४ हप्ता अगाडि
Image of कांग्रेस केन्द्रीय कार्यसमितिका निर्णय आज सार्वजनिक हुँदै

काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरू आज सार्वजनिक गर्ने भएको छ। पार्टीले निर्णयहरू सार्वजनिक गर्न मंगलबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार दिउँसो ३ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ। केन्द्रीय कार्यसमितिको बैठकबाट पारित निर्णयहरू सोही पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।

गत २४ साउनदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार १ भदौमा सम्पन्न भएको थियो। बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टीका विभिन्न सांगठनिक तथा नीतिगत विषयमा छलफल भएको थियो।

महामन्त्री प्रदीप पौडेलका अनुसार विशेष महाधिवेशनपछि बसेको यो कांग्रेसको तेस्रो केन्द्रीय कार्यसमिति बैठक हो। बैठकमा केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आफ्ना धारणा राख्न सात मिनेटको समय निर्धारण गरिएको थियो।

बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यसँगै सुदूरपश्चिमबाहेक अन्य प्रदेशका सभापतिहरूको पनि सहभागिता रहेको थियो। बैठकको अन्त्यमा सभापति गगनकुमार थापाले सदस्यहरूले उठाएका विषय तथा समसामयिक राजनीतिक प्रश्नमा जवाफ दिएका थिए।