स्कारपियो दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जना काठमाडौं पठाइए

User Image Prime TV News ४ हप्ता अगाडि
Image of स्कारपियो दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जना काठमाडौं पठाइए

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा घाइते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत न्यायाधीश डाँगीसहित चार जनालाई काठमाडौं लगिएको हो। दुर्घटनामा घाइते सवारी चालक छुनिलाल चौधरी र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार तारादत्त बडुलाई भने थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान भीमफेदी गाउँपालिका–६, जुरिखेलमा प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो दुर्घटनामा परेको थियो। काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको उक्त स्कारपियो सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा न्यायाधीश डाँगीसहित चालक चौधरी, रजिष्ट्रार बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडु घाइते भएका छन्। प्रहरीका अनुसार लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ। घाइतेहरूको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी छ।