भारतीय स्थल सेनापति धिरज सेठले आज प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्दै
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनापति जनरल धिरज सेठले आज प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री शाह र भारतीय स्थल सेनापति सेठबीच आज दिउँसो साढे २ बजे सिंहदरबारमा भेटवार्ता हुने कार्यक्रम रहेको छ। भेटमा नेपाल–भारत सुरक्षा तथा सैनिक सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सेठ आइतबार नेपाल भ्रमणमा आएका हुन्। भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रमपछि सेठले सोमबार नै जंगी अड्डामा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए।
भेटका क्रममा नेपाल र भारतबीचको लामो समयदेखिको सैनिक सहकार्य तथा आपसी सम्बन्धका विषयमा छलफल भएको थियो। सेठले जंगी अड्डा परिसरमा वृक्षरोपणसमेत गरेका थिए। नेपाल भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारी तथा अन्य विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।







