ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, घण्टाघरमा रित्तो सिलिन्डर बोकेर विद्यार्थी सडकमा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, घण्टाघरमा रित्तो सिलिन्डर बोकेर विद्यार्थी सडकमा

काठमाडौ । खाना पकाउने ग्यासको अभावले विद्यार्थीलाई समस्या परेको भन्दै नेपाल विद्यार्थी संघले काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ।

त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। ग्यास अभावका कारण पढाइसँगै दैनिक जीवनयापनमा समेत समस्या भएको भन्दै उनीहरूले तत्काल समस्या समाधान गर्न माग गरेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘बालेन सरकार, चुलो समस्या समाधानमा किन यति ढिलो?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने?’ र ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्ने?’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा उपभोक्ताले लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गरेका छन्। प्रदर्शनकारीहरूले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनमा सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।