अब संघीय सरकारका कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी हुने
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । सरकारले संघीय सरकार मातहतका कार्यालयमा कार्यरत कर्मचारीलाई अब हरेक १५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ।
महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्थाबारे जानकारी गराएको हो।
अर्थ मन्त्रालयले गत वैशाखमै संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो। तर, आवश्यक प्रणाली विकास नभएका कारण उक्त निर्णय तत्काल कार्यान्वयनमा आउन सकेको थिएन।
महालेखा नियन्त्रक कार्यालयले सोमबार गरेको निर्णयअनुसार अब प्रत्येक महिनाको १५ दिन पूरा भएपछि कर्मचारीलाई तलब तथा भत्ता भुक्तानी गरिनेछ। त्यसका लागि सम्बन्धित संघीय निकायबाट निकासा माग भए आवश्यक व्यवस्था मिलाउन कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिइएको छ।
सरकारले अर्धमासिक तलब भुक्तानीको सुरुवात अर्थ मन्त्रालयबाट गरेको थियो। चालु आर्थिक वर्षदेखि नै सबै संघीय निकायमा यो व्यवस्था विस्तार गर्ने तयारी भए पनि प्रणाली विकासमा भएको ढिलाइका कारण कार्यान्वयन करिब एक महिना पछाडि धकेलिएको हो।
नयाँ व्यवस्थाले संघीय सरकारअन्तर्गत कार्यरत कर्मचारीलाई नियमित रूपमा तलब तथा भत्ता प्राप्त गर्ने सुविधा दिने अपेक्षा गरिएको छ।








