कांग्रेसले सरकारलाई भन्योः 'जनताले सिटामोल नपाउँदा मन्त्रीलाई हेलिकप्टर'
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुर्गम क्षेत्रका नागरिकले आधारभूत औषधिसमेत नपाउने अवस्था रहेको तर मन्त्री बिरामी पर्दा राज्यको ठूलो रकम खर्च गरेर हेलिकप्टरमार्फत उद्धार गर्ने गरिएको भन्दै सरकारको आलोचना गरेको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले दुर्गमका नागरिकले राहत र औषधि नपाएको तथा सुत्केरीले समेत समयमै उपचार पाउन नसकेको बताइन्। उनले नागरिकले सिटामोलसमेत नपाउने अवस्था रहेको तर मन्त्रीहरू बिरामी पर्दा लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गरी काठमाडौं ल्याउने गरिएको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाइन्।
‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,’ बैठकमा थापाले भनिन्, ‘तर काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेर बिरामी भएपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ।’
थापाले राज्यको स्रोतसाधन प्रयोग गर्दा आम नागरिक र विशिष्ट व्यक्तिबीच विभेद हुन नहुने धारणा राख्दै दुर्गम क्षेत्रका नागरिकका लागि स्वास्थ्य सेवा तथा औषधिको सहज उपलब्धता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन्।







