कुमार नगरकोटीलाई कुलपति नियुक्त गरिएको विषय सदनमा उठ्यो

User Image Prime TV News ४ हप्ता अगाडि
Image of कुमार नगरकोटीलाई कुलपति नियुक्त गरिएको विषय सदनमा उठ्यो

काठमाडौ । साहित्यकार कुमार नगरकोटीलाई नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति नियुक्त गरिएको विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ।

नेकपा एमालेकी सांसद भूमिका लिम्बुले नगरकोटीको नियुक्तिप्रति प्रश्न उठाउँदै महिलाप्रतिको दृष्टिकोण र सार्वजनिक अभिव्यक्तिलाई लिएर नैतिक प्रश्न रहेको बताएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिम्बुले प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी तथा सदस्य नियुक्ति प्रक्रिया अपारदर्शी भएको आरोप लगाइन्।

उनले योग्य व्यक्ति छनोट गर्ने भनिए पनि दरखास्त आह्वानदेखि सिफारिस र नियुक्तिसम्मको प्रक्रिया पारदर्शी नदेखिएको बताइन्। ‘अघिल्लो सरकारले गरेका नियुक्तिहरू अध्यादेशबाट खारेज गरियो र योग्य ल्याउने भनियो,’ उनले भनिन्, ‘योग्य ठहर्‍याउने प्रक्रिया के हो? तीन महिनाअघि दरखास्त आह्वान गरियो। तर सिफारिस समिति र मन्त्रालयले भित्रभित्रै नाम संकलन गर्‍यो। कसले दरखास्त हाल्यो भन्ने पारदर्शिता भएन।’

लिम्बुले आवेदकहरूको सर्टलिस्ट सार्वजनिक नगरिएको तथा अन्तर्वार्ता भए–नभएको समेत स्पष्ट नभएको भन्दै नियुक्ति प्रक्रियामाथि प्रश्न उठाइन्। आफ्नै मान्छे नियुक्त गर्ने उद्देश्य भए दरखास्त आह्वानको प्रक्रिया किन अपनाइएको भन्दै उनले सरकारसँग जवाफ मागिन्।

उनले प्रज्ञा–प्रतिष्ठान सामान्य सरकारी जागिर खाने निकाय नभएको बताउँदै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने संस्थाको नेतृत्वमा नियुक्त हुने व्यक्तिको प्राज्ञिक योग्यतासँगै नैतिक आचरणसमेत हेरिनुपर्ने धारणा राखिन्।

नगरकोटीको नियुक्तिलाई लक्षित गर्दै लिम्बुले महिलाप्रतिको सोच, दृष्टिकोण र सार्वजनिक भाषाशैलीलाई लिएर नैतिक प्रश्न उठेको व्यक्तिलाई कुलपति बनाउनु गम्भीर विषय भएको बताइन्। ‘सार्वजनिक पदमा पुग्ने व्यक्तिको महिलाप्रतिको दृष्टिकोण र नैतिक आचरणको मूल्यांकन हुनु पर्छ कि पर्दैन?’ उनले प्रश्न गरिन्, ‘कुलपति बन्न प्राज्ञिक मात्र भएर पुग्ने कि नैतिक आचरण पनि शुद्ध हुनुपर्छ?’

लिम्बुले नगरकोटीको नियुक्तिले प्रतिनिधिसभामा रहेका महिला सांसदसहित आम नेपाली महिलाको सम्मानसँग जोडिएको विषयमा प्रश्न उठाएको बताउँदै सरकारले नियुक्तिको आधार र मापदण्ड स्पष्ट पार्नुपर्ने माग गरिन्।