सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भयो : हर्क साम्पाङ
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकार जन अपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाएका छन्।
उनले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको भन्दै सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाएका हुन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै साम्पाङले सहकारी पीडितको रकम फिर्ता, न्यायालयबाट न्याय प्राप्ति र अस्पतालमा सहज उपचारजस्ता आधारभूत विषयमै सरकार कमजोर देखिएको बताए।
‘सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन,’ उनले भने, ‘सरकार संसद्प्रति र संसद् जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ, अन्यथा हाम्रो बहसको कुनै अर्थ रहँदैन।’
साम्पाङले सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्नको सहज आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रणमा समेत सरकार प्रभावकारी हुन नसकेको दाबी गरे। उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै सुनसरीको रामधुनी–७ मा करिब ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा छानबिन गरी स्थानीय बासिन्दालाई न्याय दिन माग गरे।
त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै साम्पाङले बचतकर्ताको रकम फिर्ताका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताए। विकास निर्माणका विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराउँदै सुनसरी–१ सहित देशभरका विभिन्न विकास आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन माग गरे।
साम्पाङले जनताका दैनिक समस्या समाधान, विकास निर्माणको गति र राज्यका निकायको जवाफदेहिता सुनिश्चित नगरेसम्म संसद्मा हुने बहसले अपेक्षित परिणाम दिन नसक्ने बताए।







