देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका छुट्टाछुट्टै घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ।
दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङसमक्ष छानबिन प्रतिवेदन पेस गरेका हुन्। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार दुवै समितिबाट प्राप्त प्रतिवेदनमा उल्लेखित निष्कर्ष र सिफारिस अहिले अध्ययनको क्रममा छन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा तीन जनाको मृत्यु भएको थियो। घटनामा गोली लागेर कप्तानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहताको मृत्यु भएको थियो। उक्त घटनापछि उत्पन्न तनावको असर मधेस प्रदेशका विभिन्न क्षेत्रमा समेत परेको थियो।
कप्तानगञ्ज घटनाको स्थलगत अध्ययन तथा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिले घटनाको कारण, परिस्थितिको अध्ययन तथा आवश्यक सिफारिससहित प्रतिवेदन तयार पारेको हो।
यसैगरी, सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका अर्का सहसचिव पुष्पराज शाहीको नेतृत्वमा समिति गठन गरिएको थियो।
दुवै समितिले घटनास्थलको अध्ययन, सम्बन्धित पक्षसँगको छलफल तथा उपलब्ध तथ्यका आधारमा प्रतिवेदन तयार गरी सरकारलाई बुझाएका हुन्। गृह मन्त्रालयले अब दुवै प्रतिवेदनमा रहेका निष्कर्ष र सिफारिस अध्ययन गरेर आवश्यक निर्णय तथा कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ।







