दूध किसानले अब २५ दिनभित्रै भुक्तानी पाउने : मन्त्री चौधरी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of दूध किसानले अब २५ दिनभित्रै भुक्तानी पाउने : मन्त्री चौधरी

काठमाडौ । सरकारले दूध किसानलाई भुक्तानी दिने अवधि घटाएर २५ दिनमा झार्ने तयारी गरेको छ।

कृषि तथा वन पर्यावरणमन्त्री गीता चौधरीले भदौको अन्तिम सातादेखि किसानले दूध बिक्री गरेको २५ दिनभित्रै भुक्तानी पाउने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिएकी हुन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद निष्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले विगतमा आठ महिनासम्म दूधको भुक्तानी नपाउने अवस्था रहे पनि अहिले त्यसलाई तीन महिनामा झारिएको दाबी गरिन्।

उनका अनुसार पछिल्लो तीन महिनाको अवधिमा दूध किसानलाई करिब ६० करोड रुपैयाँ भुक्तानी गरिएको छ। भदौ १ गतेसम्म २३६ वटा सहकारी संस्थालाई करिब ३५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन्।

मन्त्री चौधरीले दूधको उत्पादन, संकलन तथा बजार व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरकार सक्रिय रहेको बताइन्। किसानलाई समयमै भुक्तानी उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउन आवश्यक तयारी भइरहेको उनको भनाइ छ।

यसैबीच, दुग्ध विकास संस्थान (डीडीसी)सँग हाल १५० मेट्रिक टन दूध पाउडर र १२० मेट्रिक टन नौनी मौज्दात रहेको मन्त्री चौधरीले जानकारी दिइन्। सरकारले दुग्धजन्य पदार्थको बजार विस्तारका लागि खाडी मुलुक र चीनमा घिउ निर्यात गर्ने तयारीसमेत गरिरहेको उनले बताइन्।

घिउ निर्यातमार्फत दूध तथा दुग्धजन्य पदार्थको बजार विस्तारसँगै किसानको उत्पादनले थप बजार पाउने सरकारको अपेक्षा छ।