ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि प्रतिनिधिसभामा चर्काचर्की

User Image Prime TV News ३ हप्ता अगाडि
Image of ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि प्रतिनिधिसभामा चर्काचर्की

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच चर्काचर्की भएको छ।

बैठकमा बोल्दै सङ्ग्रौलाले विगतमा लामो समय शासन गरेका राजनीतिक दल र नेताहरूको कार्यशैलीकै कारण गत भदौमा जेनजी आन्दोलन भएको टिप्पणी गरिन्। आन्दोलनमा ज्यान गुमाएका परिवारको पीडा अझै ताजा रहेको अवस्थामा विपक्षी सांसदहरूले सरकारको आलोचना गर्दै पुनः शासन गर्ने दाबी गर्नु उचित नभएको उनको भनाइ थियो।

‘भदौको आन्दोलनबाट मारिएका परिवार सेतो कपडा लगाएर बरखी बारेर बसिरहेका छन्। कुन हिम्मतले हामी शासन चलाउँछौँ भनेर भनिरहनुभएको छ?’ भन्दै उनले विपक्षी सांसदहरूमाथि प्रश्न उठाइन्। सङ्ग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चमा रहेका सांसदहरू उठेर विरोध जनाएका थिए।

त्यसपछि नेकपा एमालेकी सांसद साजिदा सिद्दीकीले प्रतिवाद गर्दै वर्तमान सरकारले नै मुलुकमा ‘गुण्डाराज’ चलाएको आरोप लगाइन्। प्रतिपक्षले सरकारका कामकारबाहीबारे प्रश्न गर्दा सत्तापक्षबाट ‘गुण्डाराज’को आरोप लगाइनु आपत्तिजनक भएको सिद्दीकीले बताइन्। देश र जनताको पक्षमा उभिँदा गोली खानुपरे पनि प्रतिपक्ष पछि नहट्ने उनको भनाइ थियो।

सिद्दीकीले जेनजी आन्दोलनको विषय उठाउने रास्वपा सांसदहरूले सिरहामा भएको घटनामा सरकारले चलाएको गोलीबारे पनि जवाफ दिनुपर्ने माग गरिन्। सिद्दीकीको अभिव्यक्तिपछि सङ्ग्रौलाले पुनः प्रतिवाद गर्दै आफ्नो विषयमा गरिएको टिप्पणी संसद्को रेकर्डबाट हटाउन माग गरिन्।

दुवै पक्षका सांसदबीच भनाभन र आरोप–प्रत्यारोप बढेपछि प्रतिनिधिसभा बैठकमा केहीबेर चर्को होहल्ला भएको थियो। घटनाले संसद्भित्र सरकारको कार्यसम्पादन, जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक अवस्थालाई लिएर सत्तापक्ष तथा प्रतिपक्षबीचको विवाद थप चर्किएको देखाएको छ।