टप एन्ड टी–२० सिरिज खेल्न नेपाल ‘ए’ टोली अष्ट्रेलिया प्रस्थान
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाली क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ।
नेपाल ‘ए’ टोली सिरिज खेल्न मंगलबार राति अष्ट्रेलियातर्फ प्रस्थान गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)ले अष्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार बिदाइ गरेको थियो। यसपटक अष्ट्रेलिया भ्रमणमा नेपाल ‘ए’को कप्तानी अनिलकुमार साहले गर्नेछन्।
भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ। त्यसपछि नेपालले भदौ ६ गते बंगलादेश हाई पर्फर्मेन्स, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदरावाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सीए–११ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।
नेपाल ‘ए’ले टी–२० सिरिजसँगै अष्ट्रेलिया भ्रमणका क्रममा एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ। क्यानका अनुसार नेपालले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेल खेल्ने तालिका रहेको छ।
अष्ट्रेलियाको भ्रमणले युवा तथा राष्ट्रिय टोलीका सम्भावित खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउने र आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।







