सेयरबजार १९ अंकले घट्यो, नेप्से २६२२ विन्दुमा झर्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाली सेयरबजार परिसूचक नेप्से १९.३४ अंकले घटेको छ। बजार २६२२.४८ विन्दुमा झरेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दिनभर ५५ हजार २४६ पटक कारोबार हुँदा डेढ करोडभन्दा बढी कित्ता सेयर खरिद बिक्री भएका छन्।
कारोबार भएका कम्पनीमध्ये २१७ वटा सेयरको मूल्य घटेको छ भने ५७ वटा कम्पनीका लगानीकर्ता नाफामा रहेका छन्। पाँचवटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन। मंगलबार सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजका लगानीकर्ता सर्वाधिक कमाउनेमा परेका छन्।
कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ६८.४० रुपैयाँले बढेको छ। त्यस्तै, माउन्ट एभरेस्ट पावर डेभलपमेन्टका लगानीकर्ताले प्रतिकित्ता ७८.६० रुपैयाँ कमाएका छन्। अन्य बढ्ने कम्पनीका लगानीकर्ताले अधिकतम ४.७८ प्रतिशतसम्म आम्दानी गरेका छन्।
यसैगरी, सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ता मंगलबार सर्वाधिक गुमाउनेमा परेका छन्। कम्पनीको सेयर मूल्य १०.६३ प्रतिशत अर्थात् प्रतिकित्ता ५१ रुपैयाँले घटेको छ। अन्य घट्ने कम्पनीका लगानीकर्ताले अधिकतम ९.४० प्रतिशतसम्म गुमाएका छन्।
मंगलबार नेप्सेका अधिकांश उपसूचक घट्दा व्यापार समूहको सूचक भने बढेको छ। बजारमा बिक्री चाप बढ्दा समग्र नेप्से परिसूचक लगातार दबाबमा परेको देखिएको छ।







