प्रधानमन्त्री बालेन शाहसँग भारतीय स्थल सेनाध्यक्ष धीरज सेठको शिष्टाचार भेट

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रधानमन्त्री बालेन शाहसँग भारतीय स्थल सेनाध्यक्ष धीरज सेठको शिष्टाचार भेट

काठमाडौ । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहसँग भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपाल–भारतबीचको पारस्परिक सम्बन्ध तथा सैनिक सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्। भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक–अर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ। सेठले सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटमा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध तथा सुरक्षा चासोका विषयमा छलफल भएको थियो।

नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठले नेपाली सेनाका उच्च अधिकारी तथा नेपाल सरकारका विभिन्न उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरिरहेका छन्।