देवानगञ्ज र गोलबजार सुरक्षाकर्मीको गोलीबाट चार जनाको मृत्यु भएको छानबिन समितिको निष्कर्ष
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका झडप तथा प्रदर्शनबारे छानबिन गर्न गठित दुई समितिले प्रतिवेदन बुझाएका छन्।
दुवै समितिले चार जनाको मृत्यु सुरक्षाकर्मीले चलाएको गोलीबाट भएको निष्कर्ष निकालेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते दुई समुदायबीच भएको विवादपछि झडप भएको थियो। घटनामा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहताको मृत्यु भएको थियो। घटनापछि उत्पन्न तनावको असर सिरहासहित मधेस प्रदेशका विभिन्न क्षेत्रमा परेको थियो।
त्यसको चार दिनपछि साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। सरकारले चारै जनालाई सहिद घोषणा गरिसकेको छ।
गृह मन्त्रालयका अनुसार कप्तानगञ्ज घटनाको छानबिन सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा र गोलबजार घटनाको छानबिन सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गरिएको थियो। दुवै समितिले सुरक्षाकर्मीको गोलीबाट मानवीय क्षति भएको निष्कर्षसहित प्रतिवेदन बुझाएका हुन्।
कप्तानगञ्जमा २० राउण्ड गोली
छानबिनका क्रममा कप्तानगञ्ज घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएको खुलेको छ। घटनास्थलमा कुल २० राउण्ड गोली चलेको समितिको निष्कर्ष छ।
झडप नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाशकुमार श्रेष्ठ खटिएका थिए। दुवै समुदायका मानिसले चिर्पट, ढुंगा, बाँस र लाठीबाट सुरक्षाकर्मीमाथि आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो।
छानबिनअनुसार घटनास्थलमा इन्स्पेक्टर राईले गोली चलाएका थिए। त्यसपछि सशस्त्र प्रहरीका सुरक्षाकर्मीले समेत गोली चलाउँदा तीन जनाको मृत्यु भएको समितिको निष्कर्ष छ।
गोलबजारमा प्रहरीको पेस्तोलबाट गोली चलेको निष्कर्ष
सिरहाको गोलबजार घटनामा भने सशस्त्र प्रहरीले गोली नचलाएको छानबिनबाट खुलेको छ। समितिले प्रहरीतर्फबाट चलाइएको गोली लागेर गणेश यादवको मृत्यु भएको निष्कर्ष निकालेको छ।
गृह मन्त्रालयका अनुसार गोलबजारमा सात राउण्ड ‘डमी राउण्ड’ तथा पेस्तोलबाट दुई राउण्ड गोली चलेको पाइएको छ। भिड नियन्त्रणमा खटिएका प्रहरी इन्स्पेक्टर सुदन केसीले बोकेको पेस्तोलबाट गोली चलेको समितिको निष्कर्ष छ।
प्रदर्शनकारीको मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले साउन १५ गते इन्स्पेक्टर केसीलाई गोलबजारबाट हटाएको थियो। हाल गोलबजारमा इन्स्पेक्टर दीपक खरेल कार्यरत छन्।
सुरक्षा अधिकृतलाई कारबाही गर्न सिफारिस
छानबिन समितिले घटनामा लापरवाही गर्ने तथा सुरक्षा व्यवस्थापनमा त्रुटि गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्न सिफारिस गरेको छ।
समितिका एक सदस्यका अनुसार घटनामा संलग्न सुरक्षा अधिकृतहरूको भूमिकासमेत अध्ययन गरी जिम्मेवारीअनुसार कारबाहीको सिफारिस गरिएको छ। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन तथा सामाजिक र धार्मिक संवेदनशीलतासँग सम्बन्धित उपायहरू अपनाउन सुझाव दिइएको छ।
घटनाका क्रममा भिडबाट समेत गोली चलेको चर्चा र अफवाह फैलिए पनि छानबिन समितिले सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट हतियार प्रयोग भएको पुष्टि नभएको जनाएको छ। लहानमा भएको प्रदर्शनका क्रममा एक प्रहरी कर्मचारीलाई गोली लागेको दाबीसमेत गरिएको थियो।
इलाका प्रहरी कार्यालय लहानमा कार्यरत सहायक हवल्दार नारद परियारको दाहिने खुट्टामा गोली लागेको प्रहरी प्रधान कार्यालयले जनाएको थियो। तर छानबिन समितिले उनलाई गोली लागेको पुष्टि नभएको निष्कर्ष निकालेको छ।
समितिले दुवै घटनाको सामाजिक, धार्मिक तथा सुरक्षा पक्षबाट विश्लेषण गर्दै भविष्यमा यस्ता घटना रोक्न अपनाउनुपर्ने उपायसमेत प्रतिवेदनमा समेटेको छ। घटनामा संलग्न विभिन्न पक्षको भूमिकाबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।







