जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौ । नेपाल भाषाका जनकवि तथा प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार अन्तिम संस्कार गरिएको छ।

९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो। श्रेष्ठको अन्तिम बिदाइका क्रममा निकालिएको शवयात्रामा राजनीतिक दलका नेता, मन्त्री तथा साहित्य र सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

उनलाई श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायत उच्च पदस्थ व्यक्तिहरू शोभा भगवती पुगेका थिए।

श्रेष्ठले करिब छ दशकदेखि निरन्तर साहित्य सिर्जना गर्दै आएका थिए। उनले नेपाल भाषा र नेपाली दुवै भाषामा कविता, गीतलगायत साहित्यका विभिन्न विधामा योगदान पुर्‍याएका थिए। नेपाल भाषा तथा साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’को उपाधि प्रदान गरेको थियो।

साहित्य क्षेत्रमा उनको योगदानका लागि उनलाई सन् २०१० अर्थात् विसं २०६७ मा प्रतिष्ठित ‘जगदम्बाश्री पुरस्कार’बाट समेत सम्मान गरिएको थियो। श्रेष्ठको निधनसँगै नेपाल भाषा र नेपाली साहित्य क्षेत्रमा लामो समयदेखि सक्रिय एक महत्वपूर्ण स्रष्टाको अवसान भएको छ। उनको साहित्यिक योगदानलाई स्मरण गर्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।