संविधान विपरीत अभिव्यक्ति नदिन देउवालाई प्रचण्डको चेतावनी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of संविधान विपरीत अभिव्यक्ति नदिन देउवालाई प्रचण्डको चेतावनी

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान भन्दा बाहिर गएर अभिव्यक्ति तथा निर्णय नगर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएका छन्।

मंगलबार नेकपा बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्ति र कांग्रेस इतर समूहको निर्णयप्रति आपत्ति जनाएका हुन्। कांग्रेसका पूर्वसभापति देउवाले आइतबार इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै आफू हिन्दु भएको अभिव्यक्ति दिएका थिए।

उक्त भेलाले हिन्दु धर्मको पक्षपोषण हुने गरी पाँचबुँदे निर्णयसमेत गरेको थियो। देउवाको अभिव्यक्ति र भेलाको निर्णयतर्फ संकेत गर्दै प्रचण्डले संविधानको मर्मविपरीत गतिविधि तथा अभिव्यक्ति नदिन सचेत गराएको पार्टी नेता हिमाल शर्माले जानकारी दिए।

बैठकमा प्रचण्डले भनेको उद्धृत गर्दै शर्माले भने, ‘संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने तपाईं आफैँ सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्छ। आफैँले बनाएको संविधानविपरीत निर्णय र अभिव्यक्ति नदिनुहोला।’

सरकारविरुद्ध आन्दोलनको तयारी गर्न अपिल

प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार संविधान, लोकतन्त्र र विद्यमान व्यवस्थाविपरीत अघि बढिरहेको आरोपसमेत लगाए। उनले सरकार बनेपछि बेथिति र भ्रष्टाचार बढेको तथा सञ्चारमाध्यममाथि दबाब सिर्जना गरी आवाज दबाउने प्रयास भइरहेको दाबी गरे।

उनले सरकारका गतिविधिविरुद्ध अब राजनीतिक रूपमा प्रतिवाद गर्नुपर्ने भन्दै कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन आह्वान गरे। ‘रास्वपाको सरकार बनेपछि बेथिति धेरै बढे, हामीले आवश्यकताभन्दा बढी प्रिभिलेज दियौँ। भ्रष्टाचार बढ्दै गयो, मिडियाको मुख थुन्ने काम भयो,’ प्रचण्डले भने, ‘यसका विरुद्ध अब बोल्नुपर्छ, नत्र गणतन्त्रमाथि नै प्रहार हुन सक्छ। हामी छिट्टै आन्दोलनको अपिल गर्छौँ, यसमा सबैको सहयोग चाहिन्छ। तपाईंहरू सबै तयारी अवस्थामा बस्नुहोस्।’

एमालेसँग सहकार्य, तत्काल एकता नहुने

दाहालले नेकपा एमालेसँग भएको तीनबुँदे सहमतिले वामपन्थी शक्तिबीच सहकार्यको ढोका खोले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रवृत्तिमा परिवर्तन नआएसम्म तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पारे।

उनका अनुसार दीर्घकालीन रूपमा वामपन्थी एकताको पक्षमा आफूहरू रहे पनि तत्काल सहमति कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प छैन। ‘एमालेसँग भएको तीनबुँदे सहमतिले सहकार्यको ढोका खुलेको छ। तर, उहाँ (ओली) को प्रवृत्ति नहटेसम्म एकता हुँदैन,’ प्रचण्डले भने, ‘हामी दीर्घकालीन रूपमा एकता गर्ने पक्षमै छौँ।’

बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले मुलुक गम्भीर मोडमा रहेको भन्दै लोकतान्त्रिक–गणतन्त्र पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने बताए। उनले एमालेसँगको तीनबुँदे सहमतिलाई आधार बनाएर तत्काल पार्टी एकता हुने भ्रममा नपर्न आग्रह गरे।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने एमालेसहित बृहत् वामपन्थी एकताका लागि नेकपाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले वामपन्थी शक्तिबीच सहकार्य, एकता र ध्रुवीकरणका लागि सकारात्मक पहल गर्न सबै पक्षलाई आग्रह गरे।