रोड्री बार्सिलोनामा अनुबन्धित हुँदै, ६० मिलियन युरोमा सहमति
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर रोड्रीलाई अनुबन्ध गर्ने भएको छ।
बार्सिलोना र म्यानचेस्टर सिटीबीच रोड्रीको स्थानान्तरणका लागि ६० मिलियन युरोमा सहमति भएको हो। सम्झौता प्रक्रिया पूरा गर्न रोड्री अहिले बार्सिलोनामै रहेको बताइएको छ। बार्सिलोनाले स्थानान्तरण शुल्कबापत ६० मिलियन युरो तथा थप १६ मिलियन युरोसम्म बोनस रकम तिर्ने सहमति गरेको छ।
रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौता गर्ने तयारी छ। म्यानचेस्टर सिटीसँगको उनको सम्झौता एक वर्षभन्दा कम समय बाँकी रहेका बेला उनी क्लब परिवर्तन गर्न लागेका हुन्। गत महिना सम्पन्न विश्वकपमा स्पेनको कप्तानी गरेका रोड्रीले टोलीलाई दोस्रोपटक विश्वकप उपाधि दिलाएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनलाई विश्वकपकै सर्वोत्कृष्ट खेलाडीसमेत घोषित गरिएको थियो। बार्सिलोनामा रोड्रीको आगमनसँगै विश्वकपका उत्कृष्ट खेलाडी र उत्कृष्ट युवा खेलाडी एउटै क्लबमा हुने भएका छन्। बार्सिलोनाका युवा स्टार लामिन यामाललाई यसअघिको विश्वकपमा उत्कृष्ट युवा खेलाडी घोषित गरिएको थियो।
रोड्रीले सन् २०२४ को बालोन डि’ओर र च्याम्पियन्स लिग उपाधिसमेत जितिसकेका छन्। बार्सिलोनामा आबद्ध भएपछि उनले विश्वकप विजेता स्पेनिस टोलीका जोआन गार्सिया, एरिक गार्सिया, पाउ कुबार्सी, गाभी, डानी ओल्मो, पेड्री र लामिन यामालसँगै खेल्नेछन्।
रोड्रीको आगमनले बार्सिलोनाको मिडफिल्ड थप बलियो हुने अपेक्षा गरिएको छ।







