मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यतया बदली हुने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थान आसपास रहेको छ।
मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
त्यस्तै, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको छ।
आज राति हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा पनि सामान्यतया बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ।
राति हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।







