कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ। नेकपा एमालेको समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन्।

तर, विश्वासको मत लिनुअघि नै सत्ता साझेदार दलहरूबीच विवाद देखिएको छ। नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

हाल मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा उनी एक्लै छन्। मन्त्रालय बाँडफाँटबारे एमालेसँग छलफल टुंगोमा नपुग्दै मुख्यमन्त्रीले विश्वासको मतको प्रक्रिया अघि बढाएको भन्दै एमालेभित्र असन्तुष्टि देखिएको छ।

एमालेका एक नेताका अनुसार मन्त्रालय बाँडफाँटमा सहमति नहुँदै विश्वासको मतको प्रक्रिया अघि बढाइएकाले सत्ता गठबन्धनभित्र अविश्वास बढेको छ।

एमालेको समर्थन नपाए पनि नेपाली कांग्रेसको सहयोगमा सरकार अघि बढाउन सकिने सोच मुख्यमन्त्रीमा हुनसक्ने भन्दै एमालेले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २१ सांसदको समर्थन आवश्यक पर्छ। सत्ता साझेदार नेकपा र एमालेसँग २४ सांसद रहेकाले सामान्य अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने देखिन्छ।

तर, एमालेभित्र देखिएको असन्तुष्टिका कारण विश्वासको मत लिनुअघि नै कर्णालीको सत्ता समीकरणमा नयाँ मोड आउन सक्ने सम्भावना बढेको छ।

मुख्यमन्त्री शाहीले भने विश्वासको मत लिएपछि दुई दलबीच सहमति गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन्।