रास्वपा सांसदको भाषा र सरकार विरोधी अभिव्यक्ति माथि रविको चासो, बोलाए बैठक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपा सांसदको भाषा र सरकार विरोधी अभिव्यक्ति माथि रविको चासो, बोलाए बैठक

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेका र प्रतिनिधिसभामा रहेका सांसदहरूको बैठक बोलाएका छन्।

केही सांसदको भाषा र संसद्मा प्रस्तुत हुने शैलीमाथि प्रश्न उठेपछि लामिछानेले बैठक बोलाएका हुन्। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संसद् र संसदीय समितिमा सांसदहरूले प्रयोग गरेको भाषा तथा देखाएको गतिविधिबारे छलफल हुने रास्वपा स्रोतले जनाएको छ।

स्रोतका अनुसार बैठकमा प्रश्न उठेका सांसदहरूलाई पार्टीको तर्फबाट आवश्यक निर्देशन समेत दिइनेछ। संसद् र समितिमा सांसदको अभिव्यक्ति तथा व्यवहारलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि सभापति लामिछानेले यस विषयलाई गम्भीर रूपमा लिएको बताइएको छ।

त्यस्तै, रास्वपाकै केही सांसदले सरकारको आलोचना गर्न थालेपछि सभापति लामिछानेले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई समेत बैठकमा बोलाएका छन्। आफ्नै पार्टीका सांसदहरू सरकारविरुद्ध बोल्नुको कारणबारे पनि बैठकमा छलफल हुने स्रोतले जनाएको छ।

बैठकमा पार्टीका सांसद र सरकारमा सहभागी मन्त्रीबीचको समन्वय तथा सरकारको कामकारबाहीबारे पार्टीको धारणा स्पष्ट पार्ने विषयमा समेत छलफल हुने बताइएको छ।