नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार उनलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्। डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिको अध्यक्षका रूपमा कार्यरत थिए। उक्त जिम्मेवारीमा रहँदा उनले भरतपुर अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा जोड दिएका थिए।
भरतपुर अस्पताललाई अन्य संस्थामा निर्भर नरहने गरी आफ्नै कानुनी आधारमा राष्ट्रिय चिकित्सा विज्ञान संस्थानको स्वरूपमा विकास गर्नुपर्ने धारणा पनि उनले सार्वजनिक रूपमा राख्दै आएका थिए। सरकारी अस्पतालको व्यवस्थापन सुधार, क्षमता अभिवृद्धि तथा चिकित्सा शिक्षालाई प्रभावकारी बनाउने विषयमा समेत उनी सक्रिय रहँदै आएका छन्।
काउन्सिलको अध्यक्षका रूपमा डा. पौडेलले चिकित्सकीय पेशाको नियमन, चिकित्सकको व्यावसायिक आचरण, चिकित्सा शिक्षाको गुणस्तर तथा चिकित्सकसम्बन्धी विभिन्न नियामकीय विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ। नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अन्तर्गत काउन्सिल चिकित्सा पेशालाई नियमन गर्ने प्रमुख निकाय हो।
डा. पौडेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस तथा नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गरेका छन्। उनी यसअघि नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन्।







