प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट हटाइएकोप्रति कांग्रेसको आपत्ति
Prime TV News ३ हप्ता अगाडि 
धनगढी। सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कांग्रेस नेता प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट हटाइएको निर्णयप्रति आपत्ति जनाएका छन्।
बुधबार धनगढीमा आयोजित कार्यक्रममा शाहले सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय गर्नुअघि त्यसको आधार र नियत स्पष्ट पार्नुपर्ने बताए। उनले कुनै पनि प्रदेश सभा सदस्यलाई पदबाट हटाउँदा सम्बन्धित व्यक्तिसँग एकपटक स्पष्टीकरण लिनुपर्ने भन्दै प्राकृतिक न्यायको सिद्धान्तको पालना हुनुपर्ने धारणा राखे।
“कुनै पनि प्रदेश सभा सदस्यलाई हटाउँदै गर्दा प्राकृतिक न्यायको सिद्धान्तले पनि एकचोटी उसलाई सोध्नुपर्छ,” शाहले भने।
शाहले प्रदेश सभा सदस्यको पद रिक्त गराउने विषयमा संवैधानिक तथा कानुनी पक्षबारे खुला रूपमा छलफल गर्न कांग्रेस तयार रहेको बताए। उनले निर्णय सही वा गलत भनेर तत्काल निष्कर्ष ननिकाले पनि प्रक्रिया भने पारदर्शी र न्यायोचित हुनुपर्नेमा जोड दिए।
यस अघि प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदबाट हटाइएको घटनालाई स्मरण गर्दै शाहले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश आएको बताए। सीमित राजनीतिक उद्देश्यका लागि प्रदेश सभा सदस्यलाई हटाउने प्रवृत्ति दोहोरिन नहुने उनको भनाइ थियो।
सभामुखले दलीय अंकगणितलाई आधार बनाएर निर्णय गर्न नहुनेमा समेत शाहले जोड दिए। सभामुख पदमा पुगेपछि दलगत स्वार्थभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। प्रदेश सभा सचिवालयका अनुसार पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएपछि संविधानअनुसार कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवाको पद रिक्त भएको हो।







